काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरुको ६० अर्बभन्दा बढी भुक्तानी रोकिएकाले तत्कालै भुक्तानी गर्न सरकारसँग माग गरेको छ।
महासंघले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । महासंघका अध्यक्ष रवि सिंहले राज्यले व्यवसायीलाई भुक्तानी गर्न नसक्ने भएमा श्वेतपत्र जारी गरेर समस्या समाधान गर्नुपर्ने बताए ।
बजारमा अत्याधिक तथा अप्रत्यासित रुपमा निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धिलाई सम्बोधन गर्न महासंघ र नेपाल सरकारबीच गत जेठ १२ मा भएको सम्झौता बमोजिम मूल्य समायोजनको मार्ग निर्देशिन(२ जारी गर्नुपर्ने उनले बताए।
विगतमा पटक पटक सार्वजनिक खरीद नियमावली संशोधनबाट रुग्ण रहेका ठेक्काहरूको म्याद थप गर्दा पनि माइलस्टोनका कारण वास्तविक म्याद थप हुन नसकेको महासंघको भनाइ छ।
सार्वजनिक खरिद ऐनमा व्यवस्था भए बमोजिम अनिवार्य रुपमा २० प्रतिशत मोबिलाइजेशन पेश्की पाउनुपर्ने भन्दै महासंघ अध्यक्ष सिंहले ऐन बमोजिम व्यवसायीहरूले पेश्की पाएमा जटिल अवस्थामा रहेको अर्थतन्त्र चलायमान हुने जिकिर गरे।
त्यस्तै १५ प्रतिशत भन्दा बढी घट्ने बोलपत्रलाई मूल्यांकन प्रक्रियामा समावेश नगरी सोभन्दा कम घट्ने बोलपत्रदाता बीचमा एभरेज बिडिङको व्यवस्था गरिनुपर्ने महासंघको माग छ।


