काठमाडौं । यसवर्ष एमाले अध्यक्ष केपी शर्मा अोलीले दशैं तिहार जस्ता पर्व मनाएनन् । परिवारभित्रका सदस्यको निधन भएको कारण यो वर्ष ओली परिवारले जुठो बारेको हो ।
ओली आफूले चाडबाड नमनाए पनि दशैं र तिहारमा सर्वसाधारण तथा कार्यकर्तासँग भने चाड मनाउन सरिक भए । दशैंमा गृहजिल्ला झापा पुगेर नवमीका दिन चियापान गरेका ओलीले तिहारको भाइटीकाका भोलिपल्ट कर्णालीका कार्यकर्तासँग देउसी खेले ।
आइतबार कर्णाली काण्ठमाडौ सम्पर्क कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले एकैपटक अदालत,मिडिया र सत्ता गठबन्धनप्रति आफ्नो निशाना सोझ्याए । उनले यसक्रममा ‘फल्स कन्ससनेश’ भनेको के हो र विरोधीले कसरी भ्रमित पार्छन् भनेर कार्यकर्तालाई लामो ब्याख्या गरेर बुझाउन खोजे ।
एमालेसँग मिडिया नभएका कारण सत्ता गठबन्धनको कब्जामा रहेका मिडियामार्फत एमाले सरकारविरुद्ध निरन्तर कुप्रचार भएको भन्दै ओलीले त्यसको प्रतिवादमा अब एमाले कार्यकर्ता आ आफ्ना सामाजिक संजालमार्फत संगठित हुनुपर्ने बताए ।
ओलीले एमालेविरुद्ध मिडिया र अदालत प्रयोग गरेर प्रतिगामी परमादेश जारी गराइएको भन्दै सेना र प्रहरी प्रयोग नगरी उनीहरुले अदालत तथा मिडियाको सहारा लिएको टिप्पणी गरे ।
सत्ता गठबन्धनसँग करोडौं लगानीको टेलिभिजन,पत्रिका लगायका मिडिया रहेको भन्दै ओलीले अब एमाले कार्यकर्ताले आफ्नो हातमा भएका मोबाइलमार्फत फल्स कन्ससनेस चिर्नुपर्ने बताए ।