काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले सभामुख, सभामुख नभएर पार्टीको दूत बनेको आरोप लगाएका छन्। एमालेको चितवन महाधिवेशनमा सचिव पद जितेपछि पहिलो पटक गृहजिल्ला कैलाली आएका भट्टले धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
‘हुन त परमादेशबाट आएको सरकारबाट के पो आशा गर्न सकिन्छ, तैपनि सभामुख त झन पार्टीका विषेश दूतजस्तै भए,’ उनले भने। ‘सभामुख पार्टीको सदस्यता त्यागेर आउने ब्यक्ति हो, तर उनले पार्टीको विषेश दूतझैँ काम गरिरहेका छन्,’ उनले थपे।
उनले परमादेश र अप्राकृतिक गठबन्धनसँग धेरै परिणामको अपेक्षा गर्नु नहुने बताए। नेता भट्टले अप्राकृतिक गठबन्धनसँग संसदीय मर्यादासमेत नदेखिएको बताए। ‘यस सरकारलाई संसदीय मर्यादाको ज्ञान छैन, सभामुख, सभामुख होइन पार्टीका दूत बनेका छन,’ उनले भने।
उनले एमालेले आफ्नो विरोध जारी राखेको बताए। राजनीतिक विश्लेषकहरुले पनि परमादेशबाट आएको सरकारले अध्यादेशबाट शासन गरिरहेको कुराको विरोध गरिरहेका बताए।
अर्को प्रसंगमा नेता भट्टले अहिले सरकारमा रहेका दलहरुले नै एमसीसीलाई संसदमा पेस गर्ने हिम्मत गर्नुपर्ने बताए। उनले भने, ‘गठबन्धनसँग १६५ सांसद छ, बहुमतले पास हुने कुरा न हो, एमाले बिना पनि एमसीसी पास गर्न सकिन्छ, पहिलो टेबुल गर्ने हिम्मत गर्नु परेन ?’
पार्टीका सुदूरपश्चिम इञ्चार्जसमेत रहेका नेता भट्ट बिहीबार हुने प्रदेश कमिटीको बैठकका लागि सुदूरपश्चिम आएका हुन्।