काठमाडौं । परराष्ट्रमन्त्री डा।नारायण खड्काले तातोपानी भन्सार नाका पूर्ण रुपमा खोल्न चिनियाँ पक्षसँग कूटनैतिक पहल गर्ने बताएका छ
सोमबार कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र नेपाल हिमालय सीमापार वाणिज्य संघका पदाधिकारीहरुको भेटमा उनले यस्तो बताएका हुन् । उनले यस विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै यस विषयमा आजै चिनियाँ राजदूतसँग छलफल गरेर समस्या समाधानको लागि पहल गर्ने आश्वासन दिए । मन्त्री खड्काले दैनिक २० वटाभन्दा धेरै कन्टेनर छाड्ने व्यवस्था मिलाउन र कन्टेनरको संख्या अत्याधिक रुपमा बढाइदिन आग्रह गर्ने उनले बताए
केन्द्रीय सदस्य बस्नेतले तातोपानी नाका बन्द हुँदा राज्यलाई अरबौं राजस्व घाटा भएको उल्लेख गर्दै व्यापारीलाई ठूलो क्षति भएको उल्लेख गर्दै स्थानीय जनताको रोजीरोटी खोसिएको बताए । उनले जाडो मौसममा किनेको वस्तु गर्मी मौसममा आउने अवस्था रहेकाले व्यापारीहरु मर्कामा परेको बताए । पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले चीनबाट ४० हजार टन मल ल्याउने कुरा भए पनि १५ सय टन मल नाकामा नै रोकिएको बताए ।
भेटमा हिमालय व्यापार सीमापार व्यापार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले कोभिडको कारण देखाएर चिनियाँ पक्षले दैनिक अत्यन्तै थोरै कन्टेनरलाई मात्र चाइना प्रवेशको अनुमति दिने गरेकाले ब्यासायीहरुले चाइनाबाट खरिद गरेको सामान आउन महिनौंसम्म लाग्ने र यसबाट लागत बढ्ने उल्लेख गर्दै विगत डेढ वर्षदेखि ब्यापारीहरुले धेरै आर्थिक क्षति ब्यहोरको बताए । उनले छिटो भन्दा छिटो नाकालाई स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर पूर्ण सञ्चालनमा ल्याउन मन्त्रीलाई आग्रह गरे । स्थानीय कांग्रेस युवा नेता युधिर पौडेलले तातोपानी नाका आंशिक रुपमा खुलेको जस्तो देखिए पनि सीमा नाकाका स्थानीयवासी र साना झोले पोके ब्यापार गरेर जिविकोपार्जन गर्ने हजारौं ब्यक्तिहरुको बिल्लिबाठ भएको उल्लेख गर्दै यसमा पनि सरकारको ध्यान जान जरुरी रहेको बताए । संघबाट अध्यक्षअ शोक श्रेष्ठ, प्रथम उपाध्यक्ष कुमार श्रेष्ठ तथा ब्यवसायी गोविन्द थापा सहभागी थिए ।
संघका पदाधिकारीहरुले यस विषयमा यसअघि नै सम्बन्धित निकाय र प्रधानमन्त्रीसँगसमेत छलफल गरे पनि समस्याको खासै हल हुन सकेको छैन ।