काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिगमन परास्त हुने बताएका छन् ।
अध्यक्ष दाहालले शनिबार चितवनमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरुलाई पूरै पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताएका हुन् ।
दाहालले यो निर्वाचन देशलाई अगाडि लैजाने कि पछाडि धकेल्ने भन्ने जनमतसंग्रहजस्तै भएको बताए ।
गठबन्धन बनेपछि प्रतिगमनको खतरा कम बन्दै गएको र अग्रगमन विजयी बन्दै गएको दाहालले बताए । संविधान रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाको पुनित उद्देश्यले नै यो गठबन्धन गरिएको उनले प्रस्ट पारे।


