काठमाडौं । आइतबार संघीय संसदका विभिन्न ५ वटा समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको सम्भावित कार्यसूची हनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, महिला तथा सामाजिक महिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । यस्तै, राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।
कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरुका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
महिला तथा सामाजिक मामिला समिति बैठकमा बाल सुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा मन्त्रालयले गरिरहेका कामकारवाहीका बारेमा छलफल हुनेछ ।


