काठमाडौं ।नवरात्रको आज छैटौँ दिन कात्यायिनी भगवतीको पूजा गरी मनाइँदै छ । कात्यायिनी भगवती व्रजमण्डलकी अधिष्ठात्री देवीको रूपमा प्रतिष्ठित छिन् ।
कात्यायिनी भगवतीको रूप भव्य र दिव्य छ । कात्यायिनी भगवतीको वर्ण स्वर्णसमान चम्किलो तथा भास्वर छ । चतुर्भूज रूप धारिण गरेकी कात्यायिनी भगवतीको दाहिनेतर्फको माथिल्लो हात अभय मुद्रामा छ तथा तल्लो हात वरमुद्रामा छ । देब्रेतर्फको माथिल्लो हातमा तरबार छ भने तल्लो हातमा कमल पुष्प सुशोभित छ ।
नवरात्रको छैटौँ दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख, दरिद्रजस्ता संकट नाश भई सुख, शान्तिसहित प्रगति पथमा अघि बढ्ने धार्मिक विश्वास छ ।


