काठमाडौं । आजदेखि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र छाप्न सुरु गर्ने भएको छ।
आयोगका अनुसार सुरुमा प्रदेश १, मधेश, बागमती र गण्डकीको समानुपातिकतर्फका मतपत्र छाप्ने तयारी छ।
यसपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र छापिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुनेछ।
भक्तपुरस्थित जनक शिक्षा सामाग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको आयोगले चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्नेछ। आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिँदैछन्।
देशभरका ७५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले सोही बमोजिम मतपत्र छापेको हो।


