काठमाडौं । हिजोबाट ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान ९ बजेदेखि बन्दसत्र सुरु हुने बताए ।
मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस हुन लागेको छ ।
यस्तै पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्न लागेको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन् ।


