काठमाडौं । जनआकाश साप्ताहिकले आफ्नो १५औं वार्षिकोत्सव विभिन्न कलाकाकर्मीलार्ई सम्मान गरेर मनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा मंगलबार राजधानीमा गरिएको विशेष कार्यक्रममा कलाकार, पत्रकार, खेलाडी, इञ्जिनियर, रामेछापका निर्वाचित नगरप्रमुख उपप्रमुखहरूलाई सम्मान गरिएको हो ।
जनआकाश साप्ताहिकका सम्पादक मोहन कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायतको उपस्थिति थियो ।
सम्मानित हुनेहरूमा वरिष्ठ हास्यकलाका सुभास गजुरेल, उत्तम केसी, म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे, गीतकार अम्बिका बस्नेत, साहित्यकार विनोद नेपाल, पत्रकार नेपालभूषण न्यौपाने, हास्यकलाकार शिवशंकर रिजाल, भिडियो सम्पादक प्रेम शर्मा पौडेल, कलाकार लक्ष्मीनाथ तिमल्सिना, नायक शीतल केसी, कलाकार सविता खड्का, गायत्री पाण्डे, विजेन्द्र नौबागे, चिन्ताबहादुर कार्की, कल्पना कार्की, श्रुति कार्की, प्रतिक्षा राई, मोहन कार्की, उषा गजुरेल, क्यामेरामेन विजय जिरेल रहेका छन् । सो कार्यक्रममा कलाकारका साथमा लेखापरिक्षक सुनिल बस्नेत, लेखक तिलकबहादुर लुइँटेल, निर्देशक मीनकुमार मोक्तान र युवा वैज्ञानिक शिशिर जिसीलगायतलाई पनि सम्मानित गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले पत्रकारहरूको हकहितका लागि सरकारले काम गरिरहेको बताउँदै आफू भाषणमा भन्दा काममा ध्यान दिने ब्यक्ति भएको बताए । उनले साना र स्वरोजगारमूलक मिडियाको समस्याबारे आफू अवगत रहेको बताए ।


