काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले स्वर्ण महोत्सव भव्य रुपमा मनाएको छ । कोषले काठमाडौंको होटल याक एण्ड यतिमा एक कार्यक्रम गरी आफ्नो ५० औं वर्षगाँठ मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए ।
उनले विशेष न्यून तथा विपन्न वर्गले सञ्चालन गर्ने साना तथा मझौला उद्योगको प्रवर्द्धनसहित रोजगारीको वातावरण सिर्जना गरी देशव्यापी रूपमा वित्तीय पहुँच अभिवृद्धि गर्ने सरकारको नीति तथा कार्यक्रम सफल बनाउने गरी कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरे ।
पछिल्लो समयमा मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा। महतले भने, ‘अर्थतन्त्रमा देखिएका समस्या समाधानउन्मुख छ। आर्थिक परिसूचकहरू सन्तोषजनक देखिएका छन्। विप्रेषणको स्थिति राम्रो छ, मुलुकको दिगो आर्थिक विकासका लागि स्वदेशमै लगानीमैत्री वातावरण निर्माणका पक्षमा अहोरात्र क्रियाशील सरकारलाई साथ दिन सबैसँग अनुरोध गर्दछु।’
२०८० असार मसान्तसम्म कोषले १७ लाख ऋणीलाई प्रवाह भएको २ खर्ब ७७ अर्ब कर्जा सुरक्षण गरेको छ । यस्तै, सोही अवधिमा कोषले ४ करोड १८ लाख खातामा रहेको १२ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको निक्षेपसमेत सुरक्षण गरेको छ ।
जसमध्ये यस आर्थिक वर्षभित्र ४० करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी परेको र सो भुक्तानी स्वीकृतसमेत गरिएको प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बताए । २०३१ सालमा स्थापना हुँदा जम्मा ३० लाख रुपैयाँ मात्र रहेको कोषको चुक्ता पुँजी हाल १० अर्ब रुपैयाँ पुगेको छ भने कूल पुँजी कोष करिब २३ अर्ब रुपैयाँ पुगेको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. बमबहादुर मिश्रले कोषले हाल गरिरहेको कार्यको सह्राहना गर्दै आगामी दिनमा यसलाई अझै विस्तार र विविधिकरण गर्नुपर्नेमा जोड दिए । कोषका सञ्चालक समितिका अध्यक्ष रहेका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले कोषले अघि सारेका राम्रा कामलाई समितिको सदैव साथ र सहयोग रहने बताए । स्वर्ण महोत्सवको अवसरमा कोषले पहिलो सञ्चालक समितिका अध्यक्ष स्वर्गीय कुमारदास श्रेष्ठ र प्रथम महाप्रबन्धक विजयराम माथेमालाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो । यसैगरी पूर्व अध्यक्ष भाष्करमणि ज्ञवाली, निर्मलमणि अधिकारी तथा पूर्व महाप्रबन्धक चन्द्रकान्त मलेगो र पूर्व कार्यकारी अधिकृत दण्डपाणि पौडेललाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कोषमा २५ वर्षभन्दा लामो अवधि सेवा गरेका कृष्णप्रसाद सुवेदी र कृष्णबहादुर थापामगरलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो भने रामकृष्ण शाहीलाई गत वर्षको सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट कर्मचारी सम्मान रमिता शाह र गजेन्द्रप्रसाद यादवले प्राप्त गरेका थिए । कोषले विराटनगर शाखालाई उत्कृष्ट कार्य सम्पादन शाखाको रुपमा पुरष्कृत गरेको थियो । यसैगरी निक्षेप संरक्षणतर्फ धेरै शुल्क बुझाउने राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमबी बैक र एनआइसी एसिया बैंकलाई पनि सम्मान गरिएको थियो ।


