काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिहान बुद्ध एयरको नियमित उडानमार्फत् धनगढी गएका छन् ।
लगत्तै प्रधानमन्त्री दाहाल गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियामा रहेको नेकपा एमालेका सचिव लेखराज भट्टको घर पनि पुगेका छन्।
प्रधानमन्त्री दाहालले एमाले सचिव भट्टसँग राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि कुराकानी गरेका छन्।
‘यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ। यो घरको माथि एउटा कोठा छ, त्यहाँ म बस्थेँ,’ भट्टसँग भेटघाट गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर म आज यहाँ आएको हुँ। बाँकी कुरा लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भइहाल्यो।’
भट्ट पहिले माओवादीमै थिए। नेकपाको एकीकरणबारे सर्वोच्च अदालतको आदेशपछि उनी एमालेमा लागेका हुन्। उनी अहिले नेकपा एमालेको सचिव रहेका छन् ।
प्रधानमन्त्री दाहाल सुदूरपश्चिम विश्वविद्यालयमा हुने दीक्षान्त समारोहमा सहभागी हुन धनगढी गएका हुन्।


