काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिका बीमा कम्पनीहरूले अनिबार्य रुपमा पालना गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष सिलवालले शुक्रबार काठमाडौँमा आयोजित निर्जीवन बीमा कम्पनीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भने, “प्राधिकरणले बीमा कम्पनीहरूका सुझाव, तथ्याङ्कहरूको विश्लेषण र अन्तर्राष्ट्रिय अभ्यासहरू समेतका आधारमा देशको आवश्यकता अनुरूप लगानी निर्देशिका जारी गरेको हो, यो समग्र बीमाकम्पनीको हितमा छ, निर्देशिकाले संसारमा चलेका लगानीका क्षेत्र खुला गरेको छ, अब बीमा कम्पनीहरूले बैंकमा मात्र रकम जम्मा नगरेर लगानीका क्षेत्रको अध्ययन गरी लगानी विविधीकरण गर्नुपर्छ ।”
लगानी निर्देशिकाले बीमा कम्पनीहरूलाई लगानी गर्न कुनै अप्ठ्यारो नपारेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरूको संरक्षण र विकास गर्न प्राधिकरण सजग छ, कम्पनीहरू पनि सोहीअनुसार अगाडि बढ्नुपर्छ, प्राधिकरणले बीमा व्यवसाय गर्ने वातावरण तयार गरेको छ, त्यसमा बसेर तोकिएको मापदण्ड बमोजिम कम्पनीहरूले काम गर्नुपर्छ, घर तथा सम्पत्ति बीमालाई प्रोत्साहित गर्न सामूहिक रूपमा पहल गर्नुपर्छ ।”


