काठमाडौं । मनास्लु वर्ल्ड कलेजले मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रवार कीर्तिपुरस्थित कभर्ड हलमा भएको फाइनल खेलमा मनास्लु वर्ल्ड कलेजले त्रिभुवन आर्मी क्लबलाई ८६.६६ को सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो।
राष्ट्रिय स्तरका १६ टिम सहभागी खेल निकै प्रतिस्पर्धात्मक र रोचक बनेको थियो। सबै टोलीलाई पछाडि पार्दै उपाधि हात पारेको मनास्लुले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिता पश्चात् आयोजित एक औपचारिक कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद प्रदान गरेकी हुन् ।
स्थापनाको छोटो समयमै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित चाबहिलको मनास्लु वर्ल्ड कलेजले शिक्षा सँगै विभिन्न अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिने गरेको छ। सिप र दक्षता सहितको २१ औँ शताब्दी सुहाउँदो जनशक्ति उत्पादनका लागि मनास्लु लागिपरेको कलेज प्रशासन बताउँछ। संस्था भित्र भर्ना हुन आउने हरेक विद्यार्थीलाई उसको प्रतिभा, रुचि, चाहना र क्षमता अनुसारको सिपमूलक शिक्षा कलेजले दिने गरेको छ भने यस्ता प्रतिभावान् विद्यार्थीलाई विशेष छात्रवृत्तिको समेत व्यवस्था गरेको छ।


