काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन् । उनले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथि छलफल सकिएलगत्तै सभामुखसँग समय लिएर शाहीले व्यक्तिगत रुपमा प्रचण्ड युद्ध अपराधमा दोषी भए पनि देश हुन नसक्ने भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएर अदालतमा जानुपर्ने जिकिर गरे ।
उनले भने, ‘प्रतिनिधिसभा नियमावलीको २०६९ को नियम २६ अन्तर्गत प्रधानमन्त्रीज्यू यो संसदको सदस्य पनि हो । तर, प्रधानमन्त्रीको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराज जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ । सर्वोच्चले ३० गते हाजिर हुनु भनेर पत्र काटिसकेको छ । म सोध्न चाहन्छु ३० गते प्रधानमन्त्री अदालत जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल भएर जानुहुन्छ युद्ध अपराधजस्तो कुरामा अदालतमा जानेजस्तो कुरामा देशले अपराध गरेको होइन, व्यक्तिले गरेको हो । प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ । नैतिकताको आधारमा पनि पदमा बस्न मिल्दैन ।’


