काठमाडौं । कर्मचारी सरुवामा चलखेल भएको गुनासो बढेसँगै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासन फाँटबाट कमल भट्टराईसहित तीन जना कर्मचारीको सरुवा गरेका छन् ।
सहसचिव भट्टराईसँगै निजी सचिवालयका अधिकृत नागमणि पटेल र नायव सुब्बा विष्णु लामिछाने सरुवामा परेका हुन् । मोदीले कर्मचारी प्रशासनमा हेमराज तामाङलाई ल्याएका छन् ।
सचिवालयमा अब कर्मचारीतर्फ उपसचिव ज्ञाननाथ ढकालमात्र बाँकी छन् ।
मन्त्री अमनलाल मोदीले सचिवका रुपमा त्यहाँ कृष्णहरि पुष्करलाई भित्राएका थिए । उनी कृष्णहरिको प्रतापले कमल भट्टराईलाई अर्थबाट सामान्य प्रशासनमा लगेर त्यहाँको भन्सार मानिने कर्मचारी प्रशासनको हर्ताकर्ता र प्रवक्तासमेतको जिम्मेवारी दिइएको थियो ।
यही महाशाखाले देशभरका निजामती कर्मचारीको सरुवामा निर्णायक भूमिकामा छन् । सामान्यको कर्मचारी प्रशासन भनेको मुलुकका कर्मचारी सरुवा गर्ने तालुकदार निकाय हो । यस्तो निकायमा बदनाम कर्मचारीहरुलाई लगेर थुपार्दा कर्मचारी सरुवामा हुने एक पछि अर्को बदमासी छरपष्ट हुँदै आएको थियो । अहिले मन्त्री मोदीले कमललाई त्यहाँबाट हटाएका हुन् ।


