काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सुडान गएका छन् । उनी मेडल परेडमा भाग लिन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्।
सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता र छलफल गर्ने बताए ।
सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो। सो मिसन सन् २०१६ मा बन्द भएको हो। त्यसअघि सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो। सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हालेका थिए।
सोमबार सुडानतर्फ प्रस्थान गरेका महानिरीक्षक अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, लगायत बलका वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक विदाई गरे।


