काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
आयोगका अनुसार फागुन १३ गते राष्ट्रपतिमा उमेदवारी दर्ता हुनेछ। राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ। मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन्।
एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन्। अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगको निर्वाचन शाखाका ऋषिराम भुसालले जानकारी दिए । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ मतदाता छन्।


