काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चक्रघट्टा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाबाट सौर्य बत्ती जडान कार्यक्रमको लागि दुई करोड १६ लाख रुपैयाँ छुट्याएको थियो ।
गाउँपालिकाका सबै नौ वडाका लागि नौवटै शीर्षकमा उक्त रकम विनियोजन गरिएको थियो । छुट्टयाइएको बजेट टुक्रा-टुक्रा पारी ठेक्का लगाएर अनियमितता भएपछि अख्तियारमा उजुरी परेको थियो ।
उजुरी निवेदनमाथि अनुसन्धान हुँदा स्वीकृत वार्षिक कार्यक्रममा विनियोजित रकमलाई पोल खरिद, सोलार प्यानल खरिद, लाइटर तार र नटबोल्ट खरिद, ब्याट्री खरिद र चार्ज कन्ट्रोलर खरिद तथा इन्स्टलेसनसमेतको लागि बदनियत राखी टुक्राई पाँचवटा प्याकेज बनाइएको पाइएको आयोगले जनाएको छ ।