काठमाडौं । निजामती सेवा ऐन २०८२ मा केही विषयहरु थप गर्न माग गर्दै पशुपति पोखरेल नेतृत्वको स्वतन्त्र निजामती कर्मचारी अभियानले आजबाट प्रचारप्रसार सुरु गरेको छ । अभियानका संयोजक पोखरेलले आज बिहान १० बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि पर्चा छरेर अभियानको सुरुवात गरेका हुन् ।
उनले मुख्यसचिव, सचिव, सम्पूर्ण निजामती कर्मचारी एवं दलका निकट रहेका ट्रेड युनियन सबैको साझा फोरम बनाएर अब राष्ट्रिय सभाबाट निजामती सेवा ऐन २०८२ पारित गराउँदा नै ती मागहरु पुरा गराउन लाग्नुपर्ने उल्लेख गरेका छन् ।

पोखरेलले मुख्यगरी कम्तिमा पनि १२ वर्ष कार्यरत कर्मचारीलाई स्वतः एक श्रेणी,तह बढुवा गर्ने ब्यवस्था मिलाउने, कुलिङ अफ पिरियड नराख्ने, निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनको निर्वाचान प्रत्यक्ष निर्वाचित गर्ने, र सामूहिक सौदाबाजीका लागि प्रभावकारी साझा फोरम बनाउने, दलीय कर्मचारी ट्रेड युनियन नराख्ने, निजामती कर्मचारीको परिभाषामा स्थानीय र प्रदेशका कर्मचारीलाई समावेश गराउने, प्रदेशका एघारौं तहका कर्मचारीलाई बाह्रौ तह वा सचिव हुन पाउने ब्यवस्था मिलाउनुपर्ने माग अघि सारेका छन् ।
यसैगरी उनका अन्य मागहरुमा कार्यालय सहयोगीको पदमा खाली दरबन्दीको ५० प्रतिशत लोकसेवाबाट पदपूर्ति गरिनुपर्ने करारमा कार्यरत कर्मचारीलाई पनि महंगी भत्ता अनिवार्य रुपमा दिइनुपर्ने एवं सरुवामा चक्रीय र अनुमानयोग्य प्रणाली लागू गर्नुपर्ने रहेका छन् ।
जागिरको एक दशक उपत्यका बाहिर बसेका पोखरेल सुब्बा तहका कर्मचारी हुन् । अन्य संगठनभन्दा फरक आन्दोलन गरेकै कारण उनी काठमाडौं उपत्यका छिरेको ६ वर्षमै चर्चित छन् । दलीय ट्रेड युनियनको चर्को विरोध गर्ने पोखरेल हाल शहरी विकास मन्त्रालय अन्तर्गत कार्यरत छन् ।



