काठमाडौं । आज अहराह्न प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभाको निर्वाचनको माहोल बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दै छिन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा दिउँसो ४ बजे हुने छलफलमा सहभागी हुन सात राजनीतिक दललाई औपचारिक पत्र पुगेको र टेलिफोनबाट पनि सम्पर्क भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । चुनावको वातावरण बनाउन भइरहेका विभिन्न प्रयासमध्ये एउटा प्रयासका रूपमा दलहरूसँग छलफल राखिएको उनको भनाइ छ ।
सरकारले निर्वाचनसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था, पूर्व तयारी, सुरक्षा व्यवस्थालगायतका विषयमा निर्वाचन आयोग र सुरक्षासम्बद्ध निकायसँग छलफल गर्दै आएको छ ।
निर्वाचन तयारीलगायतका विषयमा प्रधानमन्त्री कार्कीबाट पहिलो पटक राजनीतिक दलसँग हुन लागेको औपचारिक छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीलगायत दलका नेता सहभागी हुनेछन् । ती दलबाट उच्चस्तरीय प्रतिनिधित्व हुने संयोजक रावलले जनाए ।


