काठमाडौं । अहिले देशका प्रायः सबै स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार दिउँसो र बेलुका झन् भारी वर्षा हुनसक्ने सम्भावना छ ।
महाशाखाका अनुसार बागमती र मधेस प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कोशीका केही स्थानमा वर्षा भइरहेको छ। यो वर्षा आइतबार बेलुकासम्म हुनै आकलन गरिएको छ। जसकारण अत्यावश्यक काममा बाहेक सडक यात्रा नगर्न अनुरोध गरिएको छ।
वर्षापछि विभिन्न राजमार्ग अवरुद्ध समेत भएका छन्। धादिङको जवाङ खोलामा पहिरो आउँदा मुग्लिन–नागढुंगा सडक अवरुद्ध भएको छ। नारायणगढदेखि मुग्लिन सडक पनि पहिरोका कारण केही समय अवरुद्ध भएको थियो। विभिन्न ठाउँमा पहिरोको जोखिम भएकाले नागढुंगादेखि चितवन सडकमा विभिन्न स्थानमा सवारी साधन रोकिएको छ। अरनिको राजमार्ग पनि तातोपानी खण्डमा शुक्रबारदेखि नै अवरुद्ध छ ।


