काठमाडौं । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइएको छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइएको हो।
छठ पर्वका अवसरमा देशका विभिन्न स्थानका साथै काठमाडौंको गुह्येश्वरी गौरीघाट क्षेत्र, कमलपोखरीलगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारबाट भक्तजनले अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएका छन्। छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा सोमबार अपराह्न काठमाडौंको कमलपोखरीमा पुगेर पूजाअर्चना गरेकी छिन् ।


