काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै हैसियत नभएकाले प्रतिनिधि सभा विघटन गरेको आररोप लगाएका छन् ।उनले बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा भएको नेताहरुसँगको भेटघाटका क्रममा यस्तो आरोप लगाएका हुन्।
ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर गरे। राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको उनको भनाइ छ।
‘यो असंवैधानिक सरकारले प्रतिनिधिसभा किन भंग गरेको हो भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो। यो असंवैधानिक ढंगले भंग गरेको छ, सिफारिस गर्ने हैसियतनै नभएकाहरूले सिफारिस गरेको छ,’ ओलीले भने, ‘संविधानको धारा कुनै केही नभएको ठाउँमा राष्ट्रपतिज्यूले भंग गर्नु भएको छ। गर्नु हुँदैनथ्यो। त्यसकारण हामीले यो विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दछौँ। त्यसका लागि आन्दोलन गर्दछौँ र अगाडि बढछौँ।’


