काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज धरौटी बुझाएर रिहा हुँदै छन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएपछि उनी आज जेलबाट छुट्ने भएका हुन्।
उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो । आदेशको अन्तिम बुँदामा बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख छ ।
उक्त आदेशअनुसार लामिछानेलाई कागज गराएर मात्र रिहा गर्न सकिने रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


