काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको माग अर्थहीन भएको बताएका छन् ।
बिहीबार आफ्नो निवासमा भेट्न पुगेका पार्टीका युवाहरूसँग सभापति देउवाले १५ औँ महाधिवेशनमार्फत पार्टी लाई एकत्रित र एकबद्ध बनाएर निर्वाचनमा होमिन निर्देशन दिए ।
देउवालाई भेट्न उनको निवास महाराजगन्जमा नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचन, नेविसंघ पूर्वमहामन्त्री सरोजकुमार थापा, नेविसंघ पूर्वउपाध्यक्ष पुष्प शाहीसहित थलकुमार लिङ्खा, मनिष थापा, गीता गुरुङ, तीर्थ गौतम, इन्दु शर्मा, अन्जान लामा लगायत पुगेका थिए ।
भेटमा सहभागी नेविसंघ पूर्व महामन्त्री थापाले नियमित महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विशेष महाधिवेशनको चर्चा गर्नु असान्दर्भिक हुने देउवाले बताएको जानकारी दिए ।


