काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा। सुधा शर्माले जेनजी आन्दोलनको मर्म भ्रष्टाचार निर्मूल पार्नु रहेको बताएकी छिन् । उनले मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको निरीक्षणका क्रममा यस्तो धारणा ब्यक्त गरेकी हुन् ।
मन्त्री शर्माले स्वास्थ्य क्षेत्रका विकृति, विसङ्गति र अनियमितता हटाउन सरकार प्रतिबद्ध रहेको बताउँदै संस्थागत सुधार बिना जनताले अनुभूति हुने परिवर्तन सम्भव नहुने उल्लेख गरिन्।
निरीक्षणका क्रममा उनले बीपी प्रतिष्ठानले बिरामीलाई छिटो, सरल र प्रभावकारी सेवा दिनुपर्ने आवश्यकता औंल्याइन्। उनले स्वास्थ्य सेवा गुणस्तरीय बनाउन, उपचार प्रक्रियालाई छरितो बनाउन र जनतामा विश्वास पैदा गर्ने गरी सुधार कार्यक्रम अघि बढाउन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिइन्।


