काठमाडौं । आज दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
आजको बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकासम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।
सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, रमेश लेखक लगायतको छलफलपछि महाधिवेशन कार्यतालिका ल्याउने तयारी भएको हो ।
सभापति देउवासँगको छलफलपछि आगामी पुस २७ देखि ३० सम्म महाधिवेशन गर्ने गरी तालिका ल्याउने र तत्काल प्रक्रिया सुरु गर्ने निष्कर्ष निकालिएको हो । कार्यतालिकालाई अन्तिम रुप दिन कार्यबाहक सभापति खड्काले महामन्त्रीद्वयलगाय नेताहरुसँग थप छलफल गर्दैछन् ।


