काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिसुरक्षा बिथोल्नेलाई सरकारले कडा कारबाही गर्ने दृढता ब्यक्त गरेका छन् ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे भइरहेको गतिविधिका बारेमा जानकारी लिन आज निर्वाचन आयोग पुगेका उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए ।
मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकार भएका सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको गृहमन्त्री अर्यालले जानकारी गराए । यसका लागि मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी सुरक्षा योजना बनाई काम गरिरहेको उनको भनाइ छ ।


