काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका महत्वपूर्ण आयोजनाको बजेट फुकुवा हुने क्रम जारी रहेको बताएका छन्।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद भूवनबहादुर सुनारले राखेको प्रश्नको जवाफ दिँदै उनले कतिपय आयोजनाहरूको बजेट फुकुवा भएर कार्यान्वयनमा समेत गइसकेको जानकारी दिए।
उनले वर्तमान सरकार गठनको समयमा आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा सार्वजनिक सेवाको पुनःसञ्चालनका लागि ठूलो आर्थिक स्रोतको जोहो गर्नुपर्ने अवस्थामा अनुत्पादक आयोजना स्थगन गरिएको बताए।
उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न समेत उल्लेख्य बजेट आवश्यक परेको उल्लेख गरे। चालु तथा महत्वपूर्ण आयोजनामा कम विनियोजन हुँदा कतिपय आयोजनाको दायित्व सिर्जना भई भुक्तानी गर्न नसकिएको अवस्था रहेकाले पनि कतिपय योजनाको बजेट स्थगन गर्न परेको उनको भनाई छ।


