काठमाडौं । अख्तियार दुरुपयोग आयोगले लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आज उनीहरुलाई रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीत भण्डार निर्माणको अनियमिततालाई लिएर मुद्दा दायर गरेको हो । यसरी मुद्दा दायर गरिएका अन्य कर्मचारीहरुमा तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह-लेखापाल अजय मिश्र रहेका छन् ।
निर्माण कार्य पूरा नभएको, परियोजना जीर्ण र प्रयोगविहीन अवस्थामा रहेको भए तापनि गलत नापजाँच प्रतिवेदन र झुट्टा बिल बनाएर ७१ लाख ९७ हजार ९८० रूपैयाँ भुक्तानी दिइएको अख्तियारले जनाएको छ ।


