काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना लिन अन्तरिम आदेश दिएको छ ।
विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र सुरु नभएको तथा शिक्षा नियमावली, २०५९ को नियम ७८ (१) (ग) बमोजिम लब्धांकपत्रलगायत आवश्यक सक्कल प्रमाणपत्रसमेत प्राप्त नभएको अवस्थामा विद्यालयहरूले भर्नाको सूचना प्रकाशन नगर्न आदेश दिइएको हो ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिक सुरू भएपछि विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने आदेश दिएको हो । हरेक वर्ष वैशाख २ गतेदखि नयाँ शैक्षिक सत्र सुरू हुन्छ । काठमाडौं उपत्यका लगायत देशभरका अधिकाँश निजी स्कुलहरुले शैक्षिक सत्र सुरुभन्दा अगाडि नै भर्ना लिने गरेका थिए । यसमा सर्वोच्चले अंकुश लगाएको छ ।


