काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले पदमा रहँदा ‘नगर्ने’ १० वटा कामहरूको सूची सार्वजनिक गरेकी छन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै यस्तो सूची सार्वजनिक गरेकी हुन् ।
यस्तो छ उनले नगर्ने कामको सूची
१. नातागोता, सम्बन्ध वा चिनजानको आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम गर्दिनँ ।
२. कानूनविपरीत भनसुन गर्ने वा शक्तिको दुरुपयोग गर्दिनँ ।
३. कानून वा नियम उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कानूनी कारबाहीबाट बचाउने काम गर्दिनँ ।
४. . लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न कुनै पनि व्यक्तिको संरक्षण गर्दिनँ ।
५. कुनै पनि बहानामा कमिसन, घुस लिने वा भ्रष्टाचार गर्ने–गराउने काममा संलग्न हुने छैन । त्यस्तो कार्य भएको जानकारी पाएमा त्यसविरुद्ध सशक्त रूपमा उभिनेछु।
६. विशेष गरी—महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति वा कुनै पनि सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैं लड्नेछु । यस्ता मुद्दामा कुनै सम्झौता हुने छैन ।
७. राज्यका कुनै पनि स्रोतसाधनको दुरुपयोग गर्दिनँ ।
८. सरकारी सेवा छिटो गराइदिन स्क्रिन सट खोज्ने, सिफारिस मिलाइदिन वा स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गराउने प्रयास स्वीकार गर्दिनँ ।
९. मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा—क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी—लिने छैन ।
१०. ‘भोट दिएको हुँ’ भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैनस सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु। विशेषगरी कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकता दिनेछु ।


