काठमाडौं । गुह मन्त्रालयले कोशी प्रदेशका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानेर उनको ठाउँमा डीआईजी शेखर खनाललाई पठाउने निर्णय गरेको छ ।
मन्त्रालयले आइतबार राति सुनसरीमा भएको घटनापछि उनलाई काठमाडौं तानेको हो । यसैगरी सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई मन्त्रालय तानेको छ । त्यहाँ संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ। धार्मिक झण्डा राख्ने विषयलाई लिएर आइतबार राति करिब ९ बजेतिर देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबिच विवाद सुरु भएको थियो । बिजुलीको पोलमा एउटा समुदायको झण्डा हटाएर अर्को पक्षले आफ्नो झण्डा राखेको विषयले विवादको बिउ रोपेको थियो । सामान्य भनाभनबाट सुरु भएको झडपले केहीबेरमै हिंसात्मक रूप लियो । दुवैसोही क्रममा गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो । घटनामा ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी गरी २२ जना घाइते भए ।


