काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले नेकपा एमाले र राष्ट्रिय जनमोर्चासँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन् ।
नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले वामपन्थी तथा देशभक्त शक्तिहरूसँग सहकार्यका लागि लगातार छलफल भइरहेको र एमाले तथा मसालसँग सहकार्यको समझदारी भइसकेको बताएका हुन् ।
उनले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त अधिकारमाथि भइरहेको प्रहारको सामना गर्न सबैलाई एकजुट भएर अघि बढ्न अपिल गरे ।
सरकारका गलत नीति–निर्णयविरुद्ध सदनमार्फत खण्डन र आलोचना गर्ने काम भइरहेको भन्दै उनले अब सडकमा गएर पनि सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भएको बताए । सडकमा गएर खबरदारी नगरे अहिले देखा परेको प्रतिक्रान्तिको हावालाई रोक्न नसकिने उनको भनाइ थियो ।
