काठमाडौँ ।सरकारले प्राविधिकतर्फ सचिव बढुवाका लागि सिफारिस भएका तीन सहसचिवमध्ये तेस्रो नम्बरमा रहेका पद्यकुमार मैनालीलाई सचिवमा बढुवा गरेको छ। बढुवासँगै उनलाई पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरिएको छ।
चिव बढुवा सिफारिस समितिले नवीनराज सिंहलाई पहिलो, मिना श्रेष्ठलाई दोस्रो र मैनालीलाई तेस्रो नम्बरमा राखेर मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। तर मन्त्रिपरिषद्ले पहिलो र दोस्रो नम्बरका उम्मेदवारलाई छाडेर मैनालीलाई सचिवमा बढुवा गरेको हो।
मैनाली नेपाल इन्जिनियरिङ सेवा, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका सहसचिव हुन्। उनी सहरी विकास मन्त्रालय तथा सहरी विकास तथा भवन निर्माण विभागमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।
उनी सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकसमेत भइसकेका छन्। पूर्वाधार विकास मन्त्रालयका तत्कालीन सचिव गोपालप्रसाद सिग्देलको अवकाशपछि मैनालीले निमित्त सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।
कानुनअनुसार सिफारिस भएका तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने अधिकार मन्त्रिपरिषद्लाई हुन्छ।
