काठमाडौं । सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । उनको रिट निवेदन न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ ।
तिहारअघि नै दर्ता गरिएको रिटको पेसी यसअघि सोमबारका लागि तोकिएको थियो। तर सोमबार सरकारले छठको बिदा दिएकाले सुनुवाइ गर्ने मिति दुई दिनपछि आजलाई सारिएको हो।
कात्तिक १८ गते सरकारले आफूलाई आईजीपीबाट हटाएपछि कार्कीले वारेसमार्फत भोलिपल्ट १९ गते नै सर्वोच्चमा रिट पेस गरेका थिए।
रिट निवेदनको अन्तिम किनारा नलागेसम्म आफूलाई हटाउने कात्तिक १८ को निर्णय कार्यान्वयन नगर्न र आफूलाई महानिरीक्षक पदमा रही कामकाज गर्न दिन अन्तरिम आदेश माग गरेका छन्।
।

