काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमण द्विपक्षीय विकास साझेदारी, ऊर्जा, सम्पर्क सञ्जाल र शिक्षाका क्षेत्रमा सहमतिका साथ सकिएको छ । शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको उच्चस्तरीय वार्तापछि सोमबार २४ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ।
भ्रमणका क्रममा दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल’ को संयुक्त दृष्टिकोण अङ्गीकार गरेका छन् भने विभिन्न क्षेत्र समेटिएका ८ वटा समझदारीपत्र (एमओयू) आदान प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
भारतले कुल भारु १५ हजार करोड (नेरु २४ हजार करोड) बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसमध्ये रसुवा–भोटेकोशी बाढीपछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाका लागि भारु ३ हजार ५०० करोड (नेरु ५ हजार ६०० करोड) अनुदान सहायता र ऊर्जा क्षेत्रका परियोजनाका लागि भारु ११ हजार ५०० करोड (नेरु १८ हजार ४०० करोड) सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) रहेको छ। साथै, भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको स्वागत गरिएको विज्ञप्तिमा जनाइएको छ ।

