काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आवेगमा आएर आन्दोलनको घोषणा गर्न नहुने बताएका छन् । पूर्व प्रधानमन्त्री ओलीले मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने आधारमा सामाजिक सद्भाव र सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता कायम गर्ने र देशको विकास गर्नसक्छ । त्यसैले म आग्रह गर्छु, भावनामा बग्न हुँदैन । हाम्रा दाजुभाइ, दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन ।’
अध्यक्ष ओलीले देशको समस्या समाधान गर्न एकजुट भएर अघि बढ्न आग्रह गरे । उनले मिसन २०८४ एमालेको लागि नभइ देशको लागि भएको जिकिर गरे ।
उनले देशको हित, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा एमालेले मात्रै गर्न सक्ने दाबी गरे ।


