काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
विहीबार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई बिहीबार ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
यही मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । उनीहरूबीच राय बाझिएका कारण तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुरुप बिहीबार कोइरालाको इजलासमा सुनुवाइ भएको हो ।
कोइरालाले मंसिर १५ गते न्यायाधीश पाण्डेले राखेको रायसँग सहमति जनाउँदै खाँणलाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।


