काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायरमा प्रधानमन्त्री केपी ओलीमा प्रतिशोधको गन्ध रहेको बताएका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीमा अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । र, अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ ।’
उनले पहिला अख्तियारले नै कुनै पनि नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकारबाहिर भएको भन्दै ललिता निवास प्रकरणमा लेखेको चिठी आफैले हेरेको बताए ।


