काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायलाई स्वायत्त क्षेत्र को मान्यता दिनुपर्नेमा जोड दिएका छन् ।
पूर्व प्रधानमन्त्री उनले शुक्रबार नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा सञ्चालित थारू समुदायको परम्परागत भोदी खेल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा यस्तो धारणा राखेका हुन् ।
‘थारू समुदायको उपस्थिति गण्डकी प्रदेशको नवलपुरमै छ, प्रदेशको हिसाबले निकै थोरै थारूको समुदाय ले यो जनसङ्ख्याले कहिल्यै पनि प्रदेश र सङ्घमा यहाँबाट प्रतिनिधित्व असम्भव जस्तै छ । त्यसको एउटा मात्र उपाय गण्डकी प्रदेशभित्र एउटा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र थारूहरूका लागि दिनुपर्छ’, अध्यक्ष दाहालले भने, ‘अनिमात्र थारूहरूको पहिचान, संस्कृति इतिहासको प्रदेश र सङ्घमा प्रतिनिधित्व गराउन सकिन्छ । यस विषयमा सामूहिक ढङ्गले आवाज उठाउन जरुरी छ ।’


