काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न विश्वविद्यालय र प्रतिष्ठानका उपलकुलपतिहरुलाई निर्देशन दिएका छन् ।
उनले सोमबार सबै विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन् ।
उनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव दिए ।
प्रधानमन्त्री शाहले सुरक्षा संयन्त्रलगायत आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रहरी प्रशासनले आफ्नो कर्तव्य पालना गर्ने बताउँदै ढुक्क भएर जिम्मेवारी पूरा गर्न उपकुलपतिहरूलाई आग्रह गरे ।


