काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विकासविरोधी तत्वहरूले रोक्ने प्रयास गरेको आरोप लगाएका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाएमा अहिलेको धक्काबाट धेरै माथि उठ्न सकिने बताए। मुलुकको समृद्धिको महान् उद्देश्य बोकेर हिँडेको पार्टीलाई कहिलेकाहीँ धक्का पर्न सक्ने भन्दै पार्टीलाई सुदृढ बनाएर लगेमा अहिलेको परिस्थितिबाट अझ माथि उठ्न सकिने ओलीको भनाइ छ।
उनले देशमा प्रतिगमन भएको र पार्टीलाई धक्का लागेको भए तापनि सानातिना कुरामा नअल्झिई फराकिलो मनका साथ अगाडि बढेमा पार्टी फेरि लडेको ठाउँबाट उठ्न सक्ने र पहिलेकै अवस्थाभन्दा अझ अघि बढ्न सक्ने विश्वास व्यक्त गरे।
