काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिचौलिया इनम सापकोटामाथिको अनुसन्धान रहस्यमयी भएको बताएका छन्।
सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राज्यका विभिन्न निकायलाई कार्यकारीको मातहतमा ल्याउने प्रयास भइरहेको आरोप लगाउँदै पछिल्लो समय इनम सापकोटाको नाममा बाहिर आएका घटनाक्रमले सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएको बताए।
उनले भने, ‘त्यसका रहस्य त आउन बाँकी नै छन्। धेरैले गरेको विश्लेषण प्रधानमन्त्रीलाई झापामा उम्मेदवार बनाउन उपयुक्त हुन्छ हुँदैन भन्ने कुराको सर्वेक्षण पनि उनकै नेतृत्वमा भएको थियो भन्ने छ। चुनावको क्याम्पेनमा पनि उनै सामेल भए। प्रधानमन्त्री भइसकेपछि कसरी सरकारलाई सफल बनाउने भन्ने कोर टिमभित्र पनि उनी रहे भन्नेसम्मका कुराहरू आइसकेका छन्।’

