काठमाडौं । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू ) विपरीत गैरकानूनी रूपमा रकम असुली गरी ठगी तथा सङ्गठित अपराध गरेको कसूरमा पूर्वमन्त्रीद्वयसहित छ जना उच्चपदस्थ अधिकारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सोही मन्त्रालयका तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजिव पोखरेल, सोही महाशाखाका तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ रहेका छन् ।
संगठित समूहको लाभका लागि जानीजानी आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्यविपरीत श्रमिकहरूलाई संगठित रूपमा ठगी गर्ने कार्यमा मौन बसी, कानुनी उपचार नगरी वा नगराई सो गैरकानुनी रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
ब्युरोका अनुसार श्रमिकबाट गैरकानुनी रूपमा उठाइएको रकममध्ये अमेरिकी डलर र बेलायती पाउन्ड गरी १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको विदेशी मुद्रा मलेसिया पठाउने निर्णय गरिएको आरोप छ ।

