काठमाडौं । नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) सहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि हुने भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास, बालुबाटारमा बसेको बैठकले सोमबार मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले भोलि राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम रहेको जानकारी दिए । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहने छन् ।
नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।
मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाको भनाइ छ ।


