काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज इटहरी जाँदै छन्। त्यहाँ आयोजना हुने वृहत कार्यकर्ता भेला र मजदुर नेता ओम कोइरालाको अभिनन्दनमा सहभागी हुन उनी जाने भएका हुन्।
एमाले अध्यक्ष ओली शनिबार बिहान साढे ११ बजे इटहरी–२ मा हुने एमालेका पुराना अग्रज मजदुर नेता ओम कोइरालाको नागरिक अभिनन्दनमा सहभागी हुने छन्।
ओम कोइराला नागरिक अभिनन्दन समितिले अग्रज मजदुर नेता, निष्ठावान र निस्वार्थ व्यक्तित्व कोइरालाको अभिनन्दन आयोजना गरेको हो। त्यहाँ नेकपा एमाले इटहरीले पनि नेता कोइरालालाई सम्मान गर्ने अध्यक्ष सुब्बाले जानकारी दिए।
अभिनन्दनसँगै मजदुर नेता कोइरालाका ३ पुस्तकको लोर्कापणसमेत गरिने अभिनन्दन समितिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए।
अभिनन्दनपछि दिउँसो १ बजे ठूलो जनता स्कुलको खेल मैदानमा एमाले अध्यक्ष ओलीले वृहत कार्यकर्ता भेला तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ।