काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गरिबी र अभावमा समाजवाद नआउने बताएका छन्। नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजित घोषणा सभालाई आइतवार सम्बोधन गर्दै मन्त्री शर्माले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने बताएका हुन्।
उनले भने, ‘गरिबहरूको जीवनस्तर माथि नउकासेसम्म समाजवादमा जान संभव छैन । समग्र विकास र सम्पन्नताको जगमा मात्र समाजवाद खडा हुनसक्छ ।’ मुलुकको समग्र विकास र गुणस्तरीय विकास सरकारको लक्ष्य रहेको भन्दै उनले गठबन्धन सरकार त्यसतर्फ केन्द्रित रहेको स्पष्ट पारे।
अबको पाँचदेखि सात वर्षभित्र रुकुममा गरिबीको अन्त्य गरी समाजवादको आधार तयार पारिने भन्दै उनले उक्त लक्ष्य प्राप्त गर्ने गरी सक्रिय हुन पार्टी कार्यकर्ता र आम जनसमुदायलाई आग्रह गरे। कृषि सहकार्य समूह, उत्पादन समूह, श्रम सहकारीमार्फत उत्पादन र रोजगारीको अभियान सञ्चालन गरिने उनले बताए।
सरकारले पहिलो पटक गरिब र विपन्नलाई सम्झेर पाँच लाख परिवारलाई १० हजारका दरले आर्थिक राहत वितरण गर्न लागेको, दीर्घ रोगीहरूलाई मासिक पाँच हजारका दरले उपचार खर्च दिने निर्णय कार्यान्वयनमा आउन लागेको, घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई उपचार खर्च दिन लागिएको, राजनैतिक आन्दोलनका शहीद परिवारहरूलाई मासिक तीन हजारका दरले जिवनवृत्ति प्रदान गर्न लागिएको, हरेक पालिकाहरूमा कम्तिमा ५०० युवाहरूलाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइएको, कृषि बीमाको प्रिमियम अनुदान ८० प्रतिशत पु¥याइएको लगायतका दर्जनौं जनमुखी कार्यक्रम ल्याइएको मन्त्री शर्माले जानकारी दिए।