काठमाडौं । यस वर्षको बडादसैं पर्व आजबाट सकिँदै छ। धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि दसैँ पर्व समापन हुने छ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैं सकिन्छ।
शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ ।